Home » , , , , , Saturday, April 6, 2013

कांग्रेस महासमिति बैठकमा मासु खान नपाइने

Posted by Unknown

माधव धिताल
२४ चैत, काठमाडौं । सोमबारदेखि नवलपरासीमा हुने नेपाली कांग्रेसको महासमिति बैठकमा शीर्षनेता र कार्यकर्ताहरुका लागि छुट्टाछुट्टै स्थलमा बासको व्यवस्था मिलाइएको छ । नेताहरुलाई महंगा होटलमा बासको प्रबन्ध गरिएको छ भने ५ सय कार्यकर्तालाई सुस्ता भवनमा राखिने भएको छ ।
बैठक आयोजक समितिका संयोजक देवेन्द्रराज कँडेलका अनुसार पार्टी सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरवहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौला, र कोषाध्यक्ष चित्रलेखा यादवलाई छुट्टाछुटै राखिने छ ।
congress flagसभापति कोइरालालाई वन्दसत्रस्थलमै रहेको नारायणी भवनमा राखिनेछ भने वरिष्ठ नेता देउवा, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्ण सिटौलालाई गण्डकी भवनमा राखिने छ । यस्तै महामन्त्री प्रकामानसिंह र कोषाध्यक्ष चित्रलेखा यादवलाई भने त्रिवेणीमै रहेको ग्रीनल्याण्ड होटलमा राखिनेछ ।
पदाधिकारीबाहेक अन्य नेताहरुलाई बन्दसत्रस्थल आसपासमा टेन्ट हाउस र फोल्डिङ खाटको व्यवस्था गरिएको छ । बैठकमा सहभागी हुने झण्डै २ सय महिला नेतृहरुलाई भने २६ वटा कोठामा बस्ने व्यवस्था मिलाइएको छ ।
‘ननभेज’ खान नपाइने
महासमिति वैठकमा सहभागी नेता तथा कार्यकर्ताहरुका लागि खानाका लागि बन्दसत्र स्थलमा १० वटा मेसको व्यवस्था मिलाइएको छ । बैठक अवधिभर शुद्ध साकाहारी खानाको मात्रै व्यवस्था गरिएको नवलपरासी सभापति कँडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,’मासु माछा खाने मान्छेहरु पनि हुन्छन् । त्यसकारण सवैलाई शाकाहारी खानाको व्यवस्था मिलाएका छौँ । बैठक अवधिभर नै साधा खानाको मात्रै खुवाउने छौँ ।’ कँडेलका अनुसार मेसमा खाना नखानेहरुका लागि छुट्टै होटल खानाको व्यवस्था भने मिलाइएको छैन । उहाँले भन्नुभयो,’पार्टी सभापतिजीले जहाँ खाना खानुहुन्छ त्यहाँ अरुले खाना नखाने भन्ने कुरा हुँदैन । त्यसैले मेसभन्दा बाहिर खाना खानेहरुका लागि आयोजकले खानाको कुनै व्यवस्था गरेको छैन । सबैले मेसमा खानुपर्छ ।’
कार्यकर्तालाई छुट्टै बसोबास
५ सय कार्यकर्ताहरुलाई बन्दसत्र परिसरमै रहेको सुस्ता भवनमा राखिनेछ । यस्तै नारायणीतिरमा रहेको हलमा करि एक सय जना कार्यकर्तालाई राखिनेछ भने टेन्टहाउमा थप एक सय ८० जनालाई राखिन आयोजकले जनाएको छ । करिव एक हजार जनालाई मोक्ष आश्रमभित्रै राखिने छ ।
पत्रकारलाई विशेष व्यवस्था
महासमिति वैठकको समाचार संकलनका लागि देशभरवाट आउने पत्रकारहरुलाई बास बस्नका लागि छुट्टै व्यवस्था मिलाइएको छ । पत्रकाहरुलाई टेन्ट हाउस र फोल्डिङ खाँटको व्यवस्था गरिएको छ ।
यातायातको सुविधा
उद्घाटन समारोहवाट परासीवाट बन्द सत्रस्थल करिव २४ किलो मिटरको दूरीमा छ । बन्दसत्र सुरु हुने स्थलसम्म जानका लागि करिव ८० वटा बसको व्यवस्था मिलाइएको छ । यातायातको व्यवस्थाको जिम्मेवारी पार्टीका नवलपरासी सदस्यहरु शिव खड्का र ऋषि पौडेललाई दिइएको आयोजकले बताएका छन् ।
करिव २५ सय कार्यकर्ता सहभागी हुने
आयोजक समितिका अनुसार १३ सय ८० जना महासमिति सदस्यहरु, पत्रकार, कार्यकर्ता, स्वंयमसेवकलगायत २५ सयको बैठकमा सहभागिता रहने छ । कार्यक्रमको उद्घाटनका दिन भने परासीमा ५० हजार काँग्रेस कार्यकर्ता र जनता सहभागी हुने नवलपरासी सभापति कँडेलले दाबी गर्नुभयो ।

Related Posts

No comments:

Leave a Reply

Copyright © 2012, Editing News Allrights Reserved 2013 - Designed by Bishnu Subedi